आज २७ जिल्लामा बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह


काठमाडौं- आज देशभरका २७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले ती क्षेत्रका बासिन्दा र तिनबाट बहने नदी–नालामा सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आज बझाङ, अछाम, सुर्खेत, दैलेख र जाजरकोटमा बाढीको मध्यम जोखिम रहेको छ। त्यसैगरी पूर्वका ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, काठमाडौंबाट मध्य भागतर्फका रसुवा, चितवन, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, र पश्चिमतर्फका लमजुङ, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, दार्चुला, बैतडी र डडेलधुरामा पनि बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।

महाशाखाले यी जिल्लाबाट बहने साना तथा ठूला नदी–खोलामा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। देशका अधिकांश ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्छ।

त्यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी तराई क्षेत्रका केही स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गएराति मधेश प्रदेशसहित देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको थियो।

 

प्रतिक्रिया