
गुण्डामाथि आक्रामक काठमाडाैं प्रहरी
रात्रिकालीन अप्रेसन कुख्यात 'गुन्डा नाइके' चक्रे मिलनसहित ४ दर्जन नियन्त्रणमा
काठमाडौं – जिल्ला प्रहरी परिसरले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् ।
चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । लामोसमयदेखि राजधानीलाई आधार बनाएर गुन्डागर्दी आइरहेका चक्रेमिलनको अवैध गतिविधि चलिरहेको थियो । त्यसलाई नियन्त्रणमा लिनका लागि एसएसपी अधिकारीको यो अप्रेशनपछि गुन्डागर्दीविरुद्ध प्रहरी कडा भएर प्रस्तुत भएको प्रमाणित भएको छ ।
एसएसपी विश्व अधिकारीले काठमाडाैं प्रहरीको कमाण्ड लिएसँगै उपत्यकामा शान्ति सुरक्षाको प्रत्याभूति बढ्दै गएको अवस्थामा पछिल्लो घटनाले गुन्डागर्दीमाथि थप आक्रामक बनेको पुष्टी भएको छ ।
महाराजगन्ज र ठमेल क्षेत्रका साथै देशभर नै गुण्डागर्दीको त्रास फैलाउँदै गएका उनीहरूलाई नियन्त्रणमा लिनका लागि एसएसपी स्वयं अधिकारी नै रातभर सक्रिय रहेका थिए ।
अधिकारीले महाराजगन्ज र ठमेल क्षेत्रमा अवाञ्छित गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएको एसएसपी अधिकारीले बताए ।
त्यसअघि प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।
रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध काठमाडौँ प्रहरीले अपरेसन चलाएको थियो । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरू बताउँछन् ।
चक्रे मिलन यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । २०७९ सालको चुनावमा नेकपा एमाले गोरखाको क्षेत्र नम्बर २ कमिटीले मिलन गुरुङ (चक्रे मिलन) लाई प्रतिनिधिसभामा उम्मेदवार सिफारिस गरेको समेत गरेको थियो ।



कागजपत्र |
