तीन एजुकेसनल कन्सल्टेन्सीमाथि कारबाही


काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तीन वटा शैक्षिक परामर्श संस्था (एजुकेसनल कन्सल्टेन्सी) लाई जरिवाना गरेको छ।

मंगलबार गरिएको नियमित बजार अनुगमनमा विभागले काठमाडौं र मध्यपुर ठिमीस्थित तीन कन्सल्टेन्सीहरूलाई कूल १ लाख ६१ हजार रुपैयाँ जरिवाना तिराएको हो।

जरिवाना तिर्नुपर्नेमा काठमाडौं महानगरपालिका–४ स्थित स्टडी हब ग्लोबल प्रालिलाई ६० हजार रुपैयाँ, मध्यपुर ठिमी–४ मा रहेको हिमालयन एजुकेसनल ग्रुप सर्भिसलाई ५१ हजार रुपैयाँ र काठमाडौं–१४ स्थित प्रिज्म इन्टरनेसनल ल्याङ्वेज प्रालिलाई ५० हजार रुपैयाँ तिराइएको छ।

विभागका अनुसार ती कन्सल्टेन्सीहरू शिक्षा मन्त्रालयको स्वीकृति बिना नै सञ्चालनमा रहेको पाइएपछि जरिवाना लगाइएको हो।

साथै विभागले अन्य तीन कन्सल्टेन्सीहरूलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने थप नौ कन्सल्टेन्सीलाई सामान्य निर्देशन दिएको छ।

उपभोक्ताबाट कन्सल्टेन्सीहरूले ठगी गरेको गुनासो आएपछि विभागले साउन १ गतेदेखि देशभर एजुकेसनल कन्सल्टेन्सीहरूमा अनुगमन सुरु गरेको हो।

अनुगमनका प्रारम्भिक नतिजा अनुसार करिब ७० प्रतिशत कन्सल्टेन्सीहरू दर्ता प्रक्रिया पुरा नगरी अवैध रूपमा सञ्चालन भइरहेको भेटिएको विभागले जनाएको छ।

प्रतिक्रिया