
नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक नयाँ दिल्लीमा सम्पन्न
काठमाडौं- नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक मंगलबार भारतको नयाँ दिल्लीमा सौहार्द्रपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए।
बैठकमा सन् २०१९ अगस्टमा देहरादूनमा सम्पन्न छैटौँ बैठकमा भएका सहमति र निर्णयहरूको कार्यान्वयनको समीक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, त्यही वर्ष सेप्टेम्बरमा देहरादूनमै सम्पन्न भएको ११ औँ नापी अधिकारी सम्मिलित समितिको कार्य प्रगतिबारे पनि समिक्षा गरिएको छ।
सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण, मर्मतसम्भार र नवीकरणलाई थप प्रभावकारी बनाउने विषयमा बैठकमा विशेष छलफल भएको थियो। त्यसका लागि दुवै देशले संयुक्त रूपमा सर्भेक्षण तथा नक्सांकनमा नयाँ प्रविधि प्रयोग गर्ने सहमति जनाएका छन्।
बैठक सहमतिपत्रमा हस्ताक्षरसँगै समापन गरिएको छ। विज्ञप्तिअनुसार नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक भदौ महिनामा नेपालमै आयोजना गरिनेछ भने सीमा कार्यदलको अर्को बैठक पनि दुवै देशलाई उपयुक्त हुने मितिमा नेपालमै हुने सहमति भएको छ।
नेपाल–भारत सीमा कार्यदल दुवै देशका सरकारद्वारा सन् २०१४ मा गठन गरिएको हो। यो कार्यदलले सीमा क्षेत्रमा सीमास्तम्भहरूको निर्माण, पुनःस्थापना, मर्मतसम्भार र अन्य प्राविधिक कार्यहरू सम्हाल्ने जिम्मेवारी पाएको छ।



कागजपत्र |
