ओलीको गुनासो- रविलाई उपप्रधानमन्त्री बनाइदिएँ, फेरि मलाई नै गाली गर्छन्’


काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिमा ल्याउने व्यक्ति आफू नै भएको दाबी गरेका छन्।

मंगलबार कैलालीको जानकी गाउँपालिका–९ कटासस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएको स्मरण गरे।

‘उहाँलाई राजनीतिमा ल्याउने मान्छे म नै हुँ, गृहमन्त्री र उपप्रधानमन्त्री पनि बनाइदिएको थिएँ’, ओलीले भने, ‘तर अहिले उहाँका समर्थकहरूले मलाई गाली गर्छन्।’

प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्थाविरोधी गतिविधिबाट जनता भ्रममा नपर्न आग्रह गरे। ‘जो संसदविरोधी छन्, उनीहरू नै लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरिरहेका छन्’, उनले भने, ‘हामीले लोकतन्त्र ल्याउँदा थुप्रै यातना सह्यौं, जेलनेल भोग्यौं। अहिले केही मानिसहरू तर मार्न आएका छन्।’

उनले सामाजिक सञ्जालमा गालीगलौज र गैरजिम्मेवार अभिव्यक्तिको पनि आलोचना गरे। ‘फेसबुकमा स्टाटस लेख्ने, अरूलाई गाली गर्ने, सभ्यतामाथि आक्रमण गर्ने अभ्यास स्वतन्त्रता होइन’, उनले उल्लेख गरे।

रास्वपाले सहकारी ठगी प्रकरणमा अदालतले रवि लामिछानेलाई थुनामा राख्न गरेको आदेशविरुद्ध सुरु गरेको हस्ताक्षर अभियानप्रति पनि प्रधानमन्त्री ओलीले आपत्ति जनाए। ‘कसैले अपराध गरेमा थुन्ने कि नथुन्ने भन्ने निर्णय अदालतको हो, सरकारको होइन’, उनले स्पष्ट पारे।

‘अदालतले थुन्यो, सरकारले होइन। तर उहाँका समर्थकहरू मलाई गाली गर्छन्’, ओलीले दोहोर्याए।

अदालतको निर्णयविरुद्ध तीन करोडभन्दा बढी हस्ताक्षर हुने दाबीप्रति व्यंग्य गर्दै उनले भने, ‘तीन करोडभन्दा माथि हस्ताक्षर पुग्यो भने अनौठो हुनेछ, तर त्यसभन्दा माथि चाहिँ नपुगोस्।’

प्रधानमन्त्री ओलीले हालको सरकार आगामी निर्वाचनसम्म निरन्तर रहने संकेत पनि दिएका छन्।

प्रतिक्रिया