अमेरिकी पत्रपछि नेपालमा एमसीसी परियोजना पुनः सुचारु


काठमाडौं- अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको परियोजना नेपालमा पुनः निरन्तरतर्फ अगाडि बढ्ने भएको छ। अमेरिकी पक्षबाट प्राप्त आधिकारिक पत्रअनुसार अब नेपालमा एमसीसी परियोजना स्थगित रहने छैन।

सोमबार अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशअनुसार सन् २०२५ जनवरी २० मा स्थगन गरिएको एमसीसी परियोजनाको पुनरावलोकन कार्य सकिएको र परियोजना निरन्तरताका लागि सिफारिस गरिएको जानकारी प्राप्त भएको उल्लेख छ।

मन्त्रालयका अनुसार एमसीसीले २०२५ जुलाई २४ मा पठाएको पत्रमा नेपाल सरकारसँग भएको कम्प्याक्ट कार्यान्वयन पुनः सुचारु गर्न सिफारिस गरिएको छ।

यसअघि, सन् २०२५ जनवरी २० मा अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार एमसीसीसहितका सबै सहायता परियोजनाको पुनरावलोकन प्रक्रिया थालिएको थियो। त्यसकै प्रभावस्वरूप नेपालमा पनि एमसीसी परियोजना अस्थायी रूपमा रोकिएको थियो।

तर, हालै एमसीसी मुख्यालयबाट प्राप्त पत्रमा पुनरावलोकन कार्य सकिएको र नेपालसँगको कम्प्याक्टलाई निरन्तरता दिन सिफारिस गरिएको जानकारी अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते कम्प्याक्ट सम्झौता सम्पन्न भएको थियो। उक्त सम्झौताअनुसार नेपालमा विद्युत प्रसारण लाइन निर्माण र सडक स्तरोन्नति परियोजना कार्यान्वयन हुँदै आएको छ।

अब पुनः एमसीसी परियोजना सञ्चालनमा आउन सक्ने भएपछि पूर्वतयारी तीव्र बनाउने मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया