
चितवनमा लोडसेडिङ छैन, सूचना त्रुटिपूर्ण छ: ऊर्जा मन्त्री खड्का
काठमाडाैं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ भइरहेको भन्ने जानकारी असत्य भएको स्पष्ट पारेका छन्।
आइतबार काठमाडौंमा आयोजित सामुदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा सहभागी हुनु अघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले चितवनमा लोडसेडिङको विषयमा सार्वजनिक भएको सूचना नै त्रुटिपूर्ण भएको बताए।
शनिबार चितवनमा दैनिक ३–३ घन्टा विद्युत आपूर्ति बन्द हुने जानकारी सार्वजनिक भएपछि यसबारे उठेको जिज्ञासामा मन्त्री खड्काले सो सूचना भ्रामक भएको स्पष्ट गरे। उनले भने, “लोडसेडिङ होइन, उहाँहरूको लेखाइ गलत भएको हो। पानी तान्ने पम्प सञ्चालन गर्नका लागि लाइन मिलाउनु परेकाले दुई दिनको लागि बेलुकाको समयमा मात्रै पम्प नचलाउन भनिएको हो।”
मन्त्री खड्काले लोडसेडिङको तालिका जारी गरिएको भन्ने प्रश्नमा समेत प्रतिक्रिया दिँदै भने, “त्यो पूर्णतः गलत हो। लोडसेडिङ छैन र हुँदैन।”



कागजपत्र |
