रुसमा यात्रुबाहक विमान बेपत्ता, ५० जनाभन्दा बढी सवार


काठमाडौं – सुदूरपूर्वी रुसमा झण्डै ५० जना सवार एक यात्रुबाहक विमान बेपत्ता भएको छ। अमूर क्षेत्रमा उडान भरिरहेको अङ्गरा एअरलाइन्सको एन्टोनोभ एन–२४ विमान एक्कासि रडारबाट सम्पर्कविहीन भएको हो।

समाचार संस्था रोयटर्सका अनुसार विमानले चीनसँग सिमाना जोडिएको टिन्डा शहरका लागि उडान भरेको थियो। तर, उडानपछि केही समयमै विमान सम्पर्कविहीन बनेको र अहिले खोजी कार्य तीव्र पारिएको रुसी अधिकारीहरूले जनाएका छन्।

सो क्षेत्रका गभर्नर भिसाली ओर्लोभले प्रारम्भिक विवरण दिँदै विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार रहेको जानकारी दिएका छन्। तीमध्ये ५ जना बालबालिका रहेको पनि उनले उल्लेख गरेका छन्।

गभर्नर ओर्लोभका अनुसार विमानको खोजीका लागि राज्यको सबै संयन्त्र परिचालन गरिएको छ। यद्यपि, आपतकालीन मामिला मन्त्रालयले भने विमानमा करिब ४० जना यात्रु मात्र सवार रहेको प्रारम्भिक जानकारी दिएको छ।

विमान सम्पर्कविहीन भएको कारण र अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी छ।

प्रतिक्रिया