
‘मरेर गए नि नतोडिने माया’ बाेलकाे गीतमा अन्तिम भिडियो बनाएर बिदा भए दिदीबहिनी
भक्तपुर- भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९, सिन्टीटारमा बिहीबार बिहान दुई किशोरी झुण्डिएको अवस्थामा फेला परेपछि सनसनी फैलिएको छ। एउटै डोरीको पासोमा १५ वर्षीया सिर्जना कँडेल र १७ वर्षीया मेनुका कँडेल मृत फेला परेका हुन्।
दुवै जना सुर्खेतको पञ्चपुरी नगरपालिका–८ की स्थायी बासिन्दा हुन्। प्रहरीका अनुसार उनीहरू स्थानीय चक्रधर प्रजापतिको दुईतले घरको भुइँतलामा करिब दुई साताअघि मात्रै कोठा भाडामा लिएर बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार घटनाको अनुसन्धानका क्रममा उनीहरूले आत्महत्याअघि मोबाइलको सेल्फी मोडमा एउटै डोरीको पासो लगाउँदै खिचेको फोटो फेला परेको छ। उक्त फोटो प्रयोग गरेर ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’ बोलको गीतमा टिकटक भिडियो बनाएको प्रमाण पनि प्रहरीले फेला पारेको छ।
घटनास्थलबाट बरामद मोबाइलमा उक्त भिडियो भेटिएको हो। प्रहरीका अनुसार दुवै किशोरीका बाबुआमा रोजगारीको सिलसिलामा भारतमा छन्। काठमाडौंको कलंकीमा उनीहरूका आफन्त रहेको खुलेको छ।
प्रहरीका अनुसार दुवै दिदीबहिनी भारतबाट भागेर नेपाल आएका थिए। उनीहरू हराएको विषयमा भारतीय मिडियामा समाचार समेत आएको थियो। एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले उनीहरूको मोबाइल जाँच गर्दा सामाजिक सञ्जालमार्फत भारतमा रहेका बाबुको मोबाइल नम्बर सार्वजनिक गरेको तथ्य फेला परेको हो।
यसकै आधारमा पहिचान गर्न सहज भएको प्रहरीको भनाइ छ। कलंकीमा बस्दै आएकी उनीहरूकी कान्छी आमालाई खबर गरिएपछि उनी घटनास्थल पुगेकी थिइन्।



कागजपत्र |
