
जुन देश नै छैन, त्यही देशको दूतावास खाेलेर ठगी
भारत – उत्तर प्रदेशको स्पेशल टास्क फोर्स(एसटीएफ)को नोएडा युनिटले गाजियाबादको कविनगर क्षेत्रस्थित एक भाडाको घरमा सञ्चालन गरिएको फर्जी दूतावासको पर्दाफाश गरेको छ। २२ जुलाई राति छापा मारिएको उक्त स्थानबाट विभिन्न देशको नाममा खोलिएको नक्कली दूतावास सञ्चालित भइरहेको पाइएको छ।
एसटीएफले हर्षवर्धन जैन नाम गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ। उनका साथबाट कयौं डिप्लोम्याटिक नम्बर प्लेट, ती नम्बर प्लेट जडित गाडीहरू, विभिन्न देशका पासपोर्ट, परराष्ट्र मन्त्रालयसम्बन्धी कागजात, प्यानकार्ड, कम्पनीका छापहरू, प्रेस कार्ड, ४४ लाख ७० हजार भारतीय रुपैयाँ तथा विदेशी मुद्राहरू बरामद गरिएको छ।
नक्कली दूतावासको आडमा ठगी र हवाला कारोबार
पक्राउ परेका जैनले आफूलाई वेस्ट आर्कटिका, सेबोर्गा, पौल्विया र लोडोनिया जस्ता देशहरूको अधिकारी बताउँदै आएका थिए। केही देश त उनले आफैँ बनाएको देखिएको छ र आफूलाई ती देशको राजदूत बताउने गर्थे।
डिप्लोम्याटिक प्लेट भएका गाडी चढ्ने, प्रधानमन्त्री, राष्ट्रपतिसँगका एडिट गरिएका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर प्रभाव जमाउने उनको शैली थियो।
उनको प्रमुख धन्दा विभिन्न व्यक्तिलाई विदेशी रोजगार दिलाउने नाउँमा ठगी गर्नु थियो। साथै, शेल कम्पनीमार्फत हवाला कारोबार सञ्चालन गरेको आरोप पनि लागेको छ।
सशस्त्र डिलरहरूसँगको सम्बन्ध
पुलिसका अनुसार हर्षवर्धनको सम्पर्क विगतमा चर्चित अन्तर्राष्ट्रिय हतियार व्यापारी चन्द्रास्वामी र अदनान खगोशीसँग पनि रहेको पाइएको छ। २०११ मा उसैको नाममा कविनगर थानामा अवैध स्याटेलाइट फोन फेला परेको मुद्दा दर्ता छ।
फर्जी दूतावास सञ्चालन गर्ने अनुमति बिना यस्तो कार्य भारतको सार्वभौमिकतामाथिको हमला भएको एसटीएफको भनाइ छ। छानबिन अघि बढाउनका लागि एसटीएफले केन्द्रीय निकायसँग समेत समन्वय गरिरहेको बताइएको छ।
हाल गाजियाबादको कविनगर थानामा एफआईआर दर्ता गरिएको छ भने थप अनुसन्धान भइरहेको छ।



कागजपत्र |
