
अब स्टाफ नर्स भर्नामा प्रवेश परीक्षा नहुने
काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा अबदेखि प्रवेश परीक्षा नहुने भएको छ।
परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर अब जीपीएका आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो। यससँगै देशभरका विद्यार्थीलाई भर्नाका लागि काठमाडौं धाउनुपर्ने झन्झट हटेको छ।
न्यूनतम जीपीए २.० भएका वा पुरानो एसएलसी प्रणालीअनुसार द्वितीय श्रेणी प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन्। सरकारी विद्यालयका विद्यार्थीलाई प्रोत्साहनस्वरूप जीपीएमा १ अंक र निजी विद्यालयका विद्यार्थीलाई ०.८५ अंक मात्र समायोजन गरिनेछ।
छात्रवृत्ति र तिरेर पढ्ने (पेइङ) दुवै कोटाका लागि अब अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन सीटीईभीटीको वेबसाइटमार्फत गर्न सकिनेछ।
देशभर ६३ कलेजमा ४०-४० सिट तोकिएको छ, जसअनुसार कुल २ हजार ५२० विद्यार्थी भर्ना हुनेछन् भने छात्रवृत्तिका लागि १२० सिट छुट्याइएको छ।
सीटीईभीटीका अनुसार नयाँ प्रणालीले भर्ना प्रक्रिया पारदर्शी, छिटो र प्रभावकारी बनाउने विश्वास लिएको छ।



कागजपत्र |
