
सहमतिमा सम्बन्ध, पछि धम्की दिएर १४ लाख असुली गर्ने युवती पक्राउ
सुर्खेत- सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै रकम असुली गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्।
२०८१ भदौमा वीरेन्द्रनगरस्थित बुलबुले भ्यू होटलमा एक पुरुषसँग सहमतिमा यौन सम्बन्ध राखेकी सिन्दुले पछि तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिँदै ती पुरुषसँग १४ लाख २५ हजार रुपैयाँ असुली गरेको आरोप लागेको हो।
पीडित पुरुषको जाहेरीका आधारमा सिन्दुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
प्रहरीका अनुसार सिन्दुले आफूले बोलाएको होटलको कोठामा ती पुरुषसँग सहमतिमा सम्बन्ध बनाएकी थिइन्। पछि उनले बलात्कारको मुद्दामा फसाउने भन्दै विभिन्न मितिमा फरक–फरक रकम असुली गरेकी हुन्।
हाल सिन्दुलाई ‘हनी ट्रयाप’मा पारी आर्थिक लाभ लिएको आरोपमा प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
