
महानगरको छात्रवृत्ति परीक्षा आज, १६१३७ परिक्षार्थी सहभागी हुँदै
काठमाडाैं – काठमाडौं महानगरपालिकाले प्रदान गर्ने कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षा आज सञ्चालन हुँदैछ। परीक्षा शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।
यस वर्ष छात्रवृत्ति प्राप्त गर्न १६ हजार १३७ विद्यार्थीले परीक्षा दिने तयारी गरेका छन्। महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ।
महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि गएको असार १८ गते आवेदन खुला गरेको थियो।
जसमा असार २७ गतेसम्म १७ हजार ९२९ जनाले आवेदन दिएका थिए।
आवेदन दिएकामध्ये १६ हजार १३७ जना विद्यार्थी परीक्षाका लागि छनोट भएका महानगरपालिकाले जनाएको छ। देशका ७७ जिल्लाकै विद्यार्थीले छात्रवृत्तिको लागि आवेशन दिएका छन्।



कागजपत्र |
