
लगातारको वर्षाका कारण वीपी राजमार्ग अवरूद्ध
काभ्रे – लगातारको वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । सोमबार राति आएको बाढी र केही ठाउँमा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार बीपी राजमार्ग अन्तर्गत रोशी-९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखेला र साङखोला, रोशी ११ कालढुंगा, रोशीकै ११ र १२ को सिमानाको माम्ती खोलामा आएको बाढीले सडक कटान गरेकोले राजमार्ग अवरुद्ध छ ।
यस्तै, काभ्रे र सिन्धुलीको सिमाना बर्खेखोलामा आएको बढीको कारण सडक अवरुद्ध छ भने रोशी कै पिप्लेमा आएको पहिरो, पानीतारेनजिक झरेको पहिरोको कारण सडक अवरुद्ध भएको छ ।
इलाका प्रहरी प्रमुख कार्कीका अनुसार अहिले रोशी-९ पिन्थलीको लेदो हटाएर बिरुवाडाँडाको लेदो हटाउन सुरु भएको छ । ‘सडक दुवैतर्फ अवरुद्ध छ, पहिरो र लेदो हटाउन ३–४ घण्टा लाग्छ, सडक विभाग र निर्माण कम्पनी एवन निर्माण सेवाको सहयोगमा राजमार्ग खुलाउने पहल भइरहेको छु’, कार्कीले भने ।
राजमार्ग सोमबार राति ८ बजेबाट अवरुद्ध छ । दैनिकै जसो सडक अवरुद्ध हुन थालेपछि यात्रु भने चिन्तित बनेका छन् । यसअघि पनि बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक-पटक सडक अवरुद्ध भइसकेको छ ।
सडक अवरुद्ध भएपछि यात्रु र सवारी साधनको सुरक्षाका लागि काभ्रे र सिन्धुली प्रहरीले सवारी साधन होल्ड गरेको छ ।
काभ्रेबाट सिन्धुली जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र भकुण्डेमा होल्ड गरेको छ भने सिन्धुली प्रहरीले सदरमुकाम सिन्धुलीमाडी, हिरापानी चेकपोष्ट, खुर्कोट, अन्य पहिरो जाने सम्भावना नभएका स्थानमा यात्रु र सवारी साधनको सुरक्षाका लागि सयौंको संख्यामा होल्ड गरिएको छ ।
बिपी राजमार्ग खुलाउन अझै केही घन्टा लाग्ने भएकोले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक कार्यालय काभ्रेले अनुरोध गरेको छ ।



कागजपत्र |
