अब जरिवाना तिरेपछि अनलाइनबाटै ट्राफिक कक्षा लिन सकिने सुविधा


काठमाडाैं- अब ट्राफिक नियम उल्लंघन गर्नेले ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने झन्झट हटेको छ। नेपाल प्रहरीले ‘नागरिक एप’मार्फत ट्राफिक सचेतना कक्षा अनलाइनमै लिन सकिने व्यवस्था गरेको हो। गृहमन्त्री रमेश लेखकले आइतबार उक्त प्रणालीको उद्घाटन गरेका हुन्।

यो सुविधा नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले ज्ञानबजार प्रालिसँगको सहकार्यमा तयार पारेको सफ्टवेयरमार्फत लागू गरिएको हो। ट्राफिक नियम उल्लंघन गरेपछि जरिवाना तिरेर नागरिक एपमार्फत दुवै कान स्पष्ट देखिने फोटो खिची अनलाइन कक्षाका लागि दर्ता गर्न सकिन्छ।

पंजीकरणपछि एक घण्टाको अनलाइन कक्षा लिनुपर्नेछ। कक्षा पूरा गरेपछि प्रयोगकर्तालाई ६ वटा प्रश्न दिइनेछ, जसमध्ये कम्तीमा ३ वटा प्रश्नको सही उत्तर दिनु अनिवार्य हुनेछ। यसपछि मात्र कक्षा सम्पन्न भएको मानिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए।

यस प्रक्रियामा एआई प्रविधि आधारित प्रणालीले अनुगमन गर्नेछ। यदि एक मिनेटभन्दा बढी अनुहार भिडियोमा नदेखिए चेतावनी दिइनेछ भने, तेस्रोपटक पनि अनुहार नदेखिएमा अर्को कक्षा लिनुपर्नेछ। त्यसमापनि समस्या दोहोरिएमा भने अनिवार्य रूपमा भौतिक कक्षा लिनुपर्नेछ।

प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार प्रहरी सेवा प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार यो अनलाइन ट्राफिक कक्षा सुरु गरिएको हो।

प्रतिक्रिया