स्कुल विदामा घर आएका बालकको खेतमा लडेर ज्यान गयो


नुवाकोट- नुवाकोटको भद्रुटारमा एक बालकको खेतको आलीबाट लडेर मृत्यु भएको छ। पञ्चकन्या गाउँपालिका–५ भद्रुटारका ११ वर्षीय मनिष गिरीको आफ्नै घर नजिकैको खेतको आलीबाट लडेर गम्भीर घाइते भएपछि ज्यान गएको हो।

गम्भीर अवस्थामा रहेका गिरीलाई उपचारका लागि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको निधन भएको छिमेकी दीपक कार्कीले जानकारी दिए।

मृतक बालक काठमाडौंको तारकेश्वरस्थित कौशल अंग्रेजी विद्यालयमा कक्षा पाँचमा अध्ययनरत थिए। उनी विद्यालयको विदाको समयमा घर आएका थिए। उनका बाबु उद्धव गिरी वैदेशिक रोजगारीमा साउदी अरबमा छन् भने आमाको १० वर्षअघि आएको भूकम्पमा निधन भएको परिवारजनले बताएका छन्।

प्रतिक्रिया