
शिक्षकले आफ्नै छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भनेर म्यासेज पठाएपछि…
रौतहट- आफ्नै छात्रालाई जिस्काएको आरोपमा एक शिक्षक कुटपिटमा परेका छन् र अहिले प्रहरी हिरासतमा छन्। गरुडा नगरपालिका–९ स्थित श्रीपुरको श्री माध्यमिक विद्यालयका शिक्षक रविन्द्र प्रसाद साहले एक छात्राको जन्मदिनमा ‘ह्याप्पी बर्थडे मेरी जान’ भनेर सन्देश पठाएको आरोप लागेको छ।
उक्त सन्देशप्रति आपत्ति जनाउँदै छात्राका आफन्त र स्थानीय अभिभावकहरूले विद्यालयमै पुगेर शिक्षकमाथि कुटपिट गरेका थिए। उनीहरूले विद्यालयमा तोडफोडसमेत गरेका छन्।
घटना नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको टोली घटनास्थलमा पुगेको थियो। तर, अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले एक राउन्ड अश्रुग्यास प्रहार गरेर भीड तितरबितर बनाएको थियो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले शिक्षक साहलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।



कागजपत्र |
