अब एकपटक केवाईसी अपडेट गरेपछि सबै बैंकमा पुनः फारम भरिरहनु नपर्ने


काठमाडौं- अबदेखि ग्राहकले हरेकपटक बैंक खाता खोल्दा वा वित्तीय सेवा लिँदा ग्राहक पहिचान (केवाईसी) फारम पुनःपुनः भर्नुपर्ने झन्झट हट्ने भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा एक बैंकमा भरेको केवाईसी विवरण अन्य बैंक तथा वित्तीय संस्थामा पनि पहुँचयोग्य हुने प्रणाली विकास गरिने उल्लेख गरिएको छ।

गभर्नर प्राडा. विश्वनाथ पौडेलले प्रस्तुत गरेको मौद्रिक नीतिको ‘वित्तीय समावेशिता र ग्राहक हित संरक्षण’ सम्बन्धी व्यवस्थामा यो प्रावधान समावेश गरिएको हो।

नीतिमा भनिएको छ, “बैंक तथा वित्तीय संस्था एवम् अन्य सेवा प्रदायक संस्थाहरूको केवाईसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ।”

ग्राहकले एकपटक कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपछि अन्य बैंक वा वित्तीय संस्थाले विद्युतीय प्रणालीमार्फत सोही विवरण प्राप्त गर्न सक्ने पूर्वाधार बनाइनेछ।

राष्ट्र बैंकका अनुसार, राष्ट्रिय परिचयपत्रलाई केवाईसी प्रणालीसँग आबद्ध गरिँदा प्रक्रिया थप विश्वसनीय, छरितो र प्रभावकारी बन्नेछ।

यस प्रणालीले ग्राहकलाई सेवा लिन सजिलो हुने मात्र होइन, बैंक तथा वित्तीय संस्थाको काम पनि सरलीकृत हुने विश्वास राष्ट्र बैंकले व्यक्त गरेको छ।

 

प्रतिक्रिया