
रसुवाको ल्हेन्दे खोलामा आएको बाढी हिमताल विस्फोटबाट भएको निष्कर्ष
काठमाडौं — जल तथा मौसम विज्ञान विभागले रसुवास्थित नेपाल–चीन सीमा नजिक ल्हेन्दे खोलामा गएको बाढीको कारण हिमताल विस्फोट एको प्रारम्भिक निष्कर्ष निकालेको छ।
गत मंगलबार बिहान आएको बाढीबारे विभागले ‘सेन्टिनेल’ उपग्रहबाट प्राप्त तस्बिर विश्लेषण गरी उक्त नतिजा सार्वजनिक गरेको हो। विभागका बाढीविद् विनोद पराजुलीका अनुसार ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा रहेको सुप्राग्लेशियल (हिमनदी माथि बनेको) ताल फूट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको हो।
उनका अनुसार रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटर माथि, समुद्री सतहदेखि करिब ५,१५० मिटर उचाइमा (अक्षांश २८.४०४३, देशान्तर ८५.६४६९) रहेको उक्त ताल सुरुमा करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिए पनि बाढीपछिको विश्लेषणमा त्यसको आकार करिब ०.६० वर्ग किलोमिटरसम्म घटेको पाइएको छ।
“बाढीपूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिन्छ, जसअनुसार तालबाट अत्यधिक पानी निकास भएको छ र त्यसको असर तल्लो क्षेत्रसम्म देखिएको छ,” पराजुलीले बताए।
यसैबीच, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका वैज्ञानिकहरूले पनि सो ताल फूटेरै रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन्।
विभागले मित्रराष्ट्र चीनबाट यस विषयमा थप स्थलगत अध्ययन प्रतिवेदन प्राप्त हुने आशा राखेको छ। साथै, आगामी दिनमा भू-उपग्रहमार्फत प्राप्त हुने थप तस्बिरहरूले बाढीको कारणबारे थप पुष्टि गर्ने विभागको भनाइ छ। अध्ययन कार्य निरन्तर जारी राखिने जानकारी दिइएको छ।



कागजपत्र |
