सिद्धबाबाले उजाडेको कल्पनाको सिउँदो र प्रतबिको ‘आकाश’ !


रामपुर – आजभन्दा करिब ७/८ वर्ष अगाडि जस्तै फेरि शोकमा डुबेको छ, पाल्पाको रामपुर तालपोखरा । त्यतिबेला जस्तै यसपटक पनि रामपुरलाई शोकमा डुबाएको छ– सिद्धबाबाको पहिरोले ।

लोकसेवा पास गरेर सरकारी जागिर खाने श्रीमती कल्पनाको परिश्रममा साथ दिनका लागि मंगलबार छोरी प्रतविलाई घरमै छाडेर तालपोखराका जनक भण्डारी बुटवल गए । श्रीमती कल्पनाले परिक्षा दिँदै गर्दा श्रीमतीलाई कुरेर सँगै घर जाने योजनाका साथ जनक परिक्षा हलबाहिरै बसे । जब कल्पना परिक्षा हलबाट निस्किइन्, दुवै जनाले खाजा खाएर घर फर्कने निर्णय गरे ।

बिहान खुलेको मौसम, जब कल्पना परिक्षा हलमा पसेसँगै धुम्मिन थाल्यो, अनि पर्न थाल्यो पानी । लगातारको पानीपछि चार बजेतिर पानी मत्थर भएपछि दुवैजना मोटरसाइकलमा घर हिँडे । बुटवलबजारबाट दुई मिनेटकै दूरीमा पर्ने सिद्धबाबालाई जनक र कल्पनाले मोटरसाइकलबाटै दर्शन गर्दै अघि बढे । तर, सिद्धबाबा कट्ने बित्तिकै जब माथिबाट झरेको ढुंगाले जनकले चलाएको लु ५१ प ६६३३ नम्बरको पल्सर मोटरसाइकलमा रहेका जनकलाई लागेपछि उनीहरुको जीवनमा बज्रपात नै पर्यो । जनक मोटरसाइकलबाट उछिट्टिएर तिनाउको तिरमा पुगे भने कल्पना मोटरसाइकल नजिकै लडिन् ।

कल्पना घाइते भएकी थिइन् भने जनक गम्भीर घाइते भएको उद्धारकर्ताहरुले जनाएका थिए । जनकलाई तिनाउबाट निकालेर लुम्बिनी अस्पतालमा लग्नासाथ डाक्टरले मृत घोषणा गरे । कल्पनाको उपचार सुरु गरियो, सुरुमा कल्पनालाई खासै चोट नलागेको ठानिए पनि उनको दाहिने हात र खुट्टा भाँच्चिएको एक्सरेमा देखिएको छ ।

यस ‘काल’मार्गबाट यात्रा गर्ने यात्रुहरुलाई जतिसक्दो छिटो वैकल्पिक मार्गको व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता हो । यो स्थानमा सुरुङमार्ग निर्माणाधीन अवस्थामा रहेको छ, आशा छ यो सुरुङ सञ्चालनमा आएसँगै कल्पना जस्ताहरुको सिन्दुर पुछिन्थिएनन् होला, प्रतविहरुले बाबुरुपी आकाश गुमाउनुपर्दैनथ्यो होला, अनि सागरहरुले बुढेसकालको सहारा गुमाउनुपर्दैनथ्यो अनि रामपुरबासीले जनकजस्ता समाजसेवीहरु गुमाउनुपर्दैनथ्यो ।

उनमा लागेको शारिरीक चोटभन्दा ठूलो उनको सिन्दुर पुछिएको छ, हातको चुरा फुटेको छ अनि छोरी प्रतविले ७ वर्षकै कलिलो उमेरमा ‘आकाश’ गुमाएकी छिन् । दरैंठाँटी माविका शिक्षक सागर भण्डारीले सहाराका रुपमा रहेका एकमात्र छोरा जनकलाई गुमाएका छन् । आज (बुधबार) घरमा हुँदै गरेको एकाहाको तयारी पूरा भइसकेको अवस्थामा सागर पुत्रवियोगको पीडामा परेका छन् । अनि रामपुर नगरपालिकाले एक समाजसेवी, राजनीतिक अनि व्यावसायीक युवा गुमाएको छ ।

जनक, गत स्थानीय चुनावमा रामपुर नगरपालिका वडा नंं ६ मा वडाध्यक्षका उम्मेवार रहँदै नगरपालिकाको आगामी नेतृत्व तहसम्म पुग्ने ल्याकत राख्ने राजनीतिक व्यक्तित्व थिए भने अर्कोतिर व्यावसायिक रुपमा रामपुरबासीलाई शुद्ध खानेपानी खुवाउने कर्ममा सक्रिय रहेका थिए । त्यसबाहेक तालपोखरा संरक्षण समितिका सचिवका रुपमा सक्रिय रहेका जनकको निधनले तालपोखराबासी मात्र नभई सम्पूर्ण रामपुर नगरपालिकाबासीले ठूलो क्षति ब्यहोर्नु परेको छ ।

यसअघि करिब ७ वर्षअघि रामपुर तालपोखराकै सुनिता देवकोटाको दम्पती पनि सोही स्थानमा पुसमा गएको पहिरोमा पुरिएर ज्यान गुमाएका थिए । त्यस्तै आजभन्दा करिब ९ वर्ष अगाडि तानसेन अस्पतालमा कार्यरत दुई भारतीय चिकित्सकले पनि सोही स्थानमा पहिरोमा पुरिएर ज्यान गुमाएका थिए । त्यसबाहेक हरेक वर्ष जस्तो सिद्धबाबा पहिरो क्षेत्रमा पहिरो र ढुंगाले लागेर मानवीय क्षति भइरहेको छ ।

यस ‘काल’मार्गबाट यात्रा गर्ने यात्रुहरुलाई जतिसक्दो छिटो वैकल्पिक मार्गको व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता हो । यो स्थानमा सुरुङमार्ग निर्माणाधीन अवस्थामा रहेको छ, आशा छ यो सुरुङ सञ्चालनमा आएसँगै कल्पना जस्ताहरुको सिन्दुर पुछिन्थिएनन् होला, प्रतविहरुले बाबुरुपी आकाश गुमाउनुपर्दैनथ्यो होला, अनि सागरहरुले बुढेसकालको सहारा गुमाउनुपर्दैनथ्यो अनि रामपुरबासीले जनकजस्ता समाजसेवीहरु गुमाउनुपर्दैनथ्यो ।

प्रतिक्रिया