नेपालमा ईभी गाडीको बढ्दो दुर्घटना : गाडीमै खराबी कि चालकको लापरवाही ?


काठमाडौं- पछिल्ला दिनमा नेपालमा दैनिकजसो ईभी (इलेक्ट्रिक भेइकल) गाडीको दुर्घटनाका समाचारहरू आइरहेका छन्। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म यी घटनाले स्थान पाउँदा ईभी आफैंमा खोट त छैन भन्ने प्रश्न उठ्न थालेको छ।

दुर्घटना त पहिले पनि हुन्थे र अहिले पनि भइरहेका छन्। तर यात्रुबाहक सवारीमा भएको दुर्घटना र मानवीय क्षतिका कारण ईभी दुर्घटना बढी ध्यानको केन्द्रमा पुगेका छन्। यति हुँदाहुँदै पनि के साँच्चै नेपालमा भएका अधिकांश दुर्घटना ईभीकै हुन् ? वा, ती दुर्घटनामा पनि प्रमुख दोष मानवीय लापरवाहीकै हो ?

चितवन दुर्घटना : तीव्र गतिमा ओभरटेक गर्दा ७ जनाको मृत्यु

२०८१ असार ७ गते चितवनको रत्ननगर–४ डडुवा भन्ने स्थानमा भएको दुर्घटनामा ईभी भ्यान र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा भ्यानमा सवार ७ जनाको ज्यान गयो। दुर्घटनामा घटनास्थलमै ईभी चालकको मृत्यु भयो।

प्रत्यक्षदर्शीका अनुसार दुबै सवारीको गति अत्यधिक थियो। ईभी भ्यानले तीनवटा ट्रकलाई एकैपटक ओभरटेक गर्ने प्रयास गरेको थियो भने बसले अगाडिको बस ओभरटेक गरिरहेको थियो। यस्तो स्थितिमा दुबै तीव्र गतिमा आएकाले दुर्घटना टार्न नसकिएको देखिन्छ।

सत्रकिलो दुर्घटना : रातको समयमा विपरीत लेनमा पुग्दा ५ को ज्यान गयो

२०८१ कात्तिक २३ गते चितवनकै सत्रकिलोमा काकडभित्ताबाट नारायणगढ हुँदै काठमाडौं आउँदै गरेको बससँग ईभी माइक्रो ठोक्किँदा ५ जनाको मृत्यु भयो। बस आफ्नै लेनमा औसत गतिमा रहँदा ईभी अत्यधिक गति लिएर विपरीत लेनमा आएको ट्राफिक रिपोर्टमा उल्लेख छ। सम्भवतः रातको समयमा चालक निदाएका थिए भन्ने आशंका गरिएको थियो।

पोखराको लामेआहाल दुर्घटना : हावाहुरी र तीव्र गतिले ३ को ज्यान लियो

२०७८ वैशाख ३१ गते धादिङबाट पोखरा जाँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो। हावाहुरी आइरहेको बेला तीव्र गतिमा रहेको गाडीको सन्तुलन बिग्रेर २० मिटर तल खस्दा दुर्घटना भयो।

धरमपानी दुर्घटना : मोडमा नियन्त्रण गुमाउँदा गाडी २०० मिटर तल खस्यो

२०७८ वैशाख ५ गते मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा ईभी भ्यान सडकबाट करिब २०० मिटर तल खस्दा २ जनाको मृत्यु भयो र १४ जना घाइते भए। प्रत्यक्षदर्शी तथा घाइते यात्रुहरूका अनुसार गाडीको गति अत्यधिक थियो र मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

विद्यालयमै मृत्यु : ९ वर्षीया बालिका स्कुल बस दुर्घटनामा मारिइन्

२०७८ असार २ गते कलंकीस्थित ईडिफाई इन्टरनेशनल स्कुलको ईभी भ्यानले विद्यालय परिसरमै दुर्घटना गर्दा ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भयो। शिक्षकसहित अन्य विद्यार्थी घाइते भए। अनुसन्धानमा चालकले इन्धनबाट चल्ने गाडीझैँ बुझेर ईभी सञ्चालन गर्दा ब्रेक नियन्त्रण गुमाएका थिए।

मकवानपुरको रातमाटे र गोरखामा पनि ईभी दुर्घटना

२०७८ असार २० गते मकवानपुरको इन्द्रसरोवर–२ रातमाटेमा मोडमा तीव्र गतिमा रहेको ईभी भ्यान चिप्लिएर सडकबाट तल झर्‍यो। त्यस्तै, फागुन १९ मा गोरखामा टेस्ट ड्राइभका क्रममा भएको ईभी दुर्घटनामा एक जनाले ज्यान गुमाएका थिए।

ईभी प्रयोगको ज्ञान नहुनु नै दुर्घटनाको मुख्य कारण : ट्राफिक विज्ञ गजुरेल

यी प्रतिनिधि दुर्घटनाहरू हेर्दा अधिकांशमा चालकको लापरवाही, तीव्र गति र अनावश्यक ओभरटेकजस्ता व्यवहारले दुर्घटनाको रूप लिएको देखिन्छ। ईभीको प्रविधिमा खासै समस्या नभए पनि चालकहरू अझै पनि ईभी सञ्चालन प्रविधिसम्बन्धी पूर्ण जानकार नभएको ट्राफिक अध्ययनले देखाएको छ।

ट्राफिक विज्ञ आशिष गजुरेलका अनुसार, अधिकांश ईभी दुर्घटना चालकले गाडीको प्रविधि राम्रोसँग नबुझेकै कारण भएको हो। “ईभी गाडीमा गियर हुँदैन, त्यसैले ब्रेक मात्रमा भर पर्नुपर्छ,” उनी भन्छन्, “यो तुरुन्तै पिकअप लिन्छ, जसले चालकलाई सन्तुलनमा राख्न गाह्रो बनाउँछ।”

उनका अनुसार डिजेल/पेट्रोल गाडीमा गियर–ब्रेक संयोजनले स्पीड कन्ट्रोल गर्न सहज हुन्छ तर ईभीमा यस्तो सुविधा नभएका कारण अत्यधिक गति हुँदा दुर्घटना रोक्न गाह्रो पर्छ।

गल्ती चालकको, दोष भने ईभीलाई !

दुर्घटनाको गहिरो अध्ययनले देखाउँछ कि ९५ प्रतिशत ईभी दुर्घटनाको कारण चालककै लापरवाही हो। तर सामाजिक सञ्जालमा ईभीप्रतिको गलत प्रचार व्यापक छ। कतिपय दुर्घटनामा इन्धनबाट चल्ने गाडीलाई पनि ईभी भनेर प्रचार गरिन्छ, केही दृश्य त स्पोन्सर गरेर बुस्ट गरिएको पाइन्छ। यस्तो प्रवृत्तिमा ईभी प्रतिस्पर्धी सवारी आयातकर्ताको स्वार्थ लुकेको आशंका पनि गरिएको छ।

दुर्घटनालाई न्यून पार्न ईभी सञ्चालन सम्बन्धी विशेष तालिम, गतिमा नियन्त्रण, ट्राफिक नियमको कडाइ र प्रविधिमा सचेतना आवश्यक देखिन्छ।

 

प्रतिक्रिया