
ठमेलमा भारतीय पर्यटकमाथि लुटपाट, तीन जना पक्राउ
काठमाडौं- लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा नगरपालिका–१० श्रृजना टोल बस्ने २८ वर्षीय निल कुमार तामाङ रहेका छन्।
उनीहरूलाई भारतीय पर्यटकमाथि लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो। प्रहरीले जनाएको अनुसार, काठमाडौं महानगरपालिका–१६ ठमेल क्षेत्रमा पर्यटकलाई होटल खोज्न सहयोग गर्छौं भनेर विश्वासमा पारेर गोंगबुस्थित ध्रुव तारा कम्प्लेक्सको छैठौँ तलामा पुर्याई कुटपिट र लुटपाट गरी फरार भएका थिए।
घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई नयाँबजार क्षेत्रबाट पक्राउ गरेको हो। हाल उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ।



कागजपत्र |
