
सुर्खेतमा चट्याङ लागेर एकजनाको मृत्यु, चार घाइते
सुर्खेत- सुर्खेतको भेरीगंगा नगरपालिका–८, कुइरेमा शुक्रबार दिउँसो खेतमा धान रोपाइँ गर्दै गर्दा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृतक २७ वर्षीय डिल बहादुर शाही स्थानीय वीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला दिउँसो करिब ३ बजे चट्याङ परेको थियो। गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।
चट्याङका कारण घाइते हुनेहरूमा सोही ठाउँका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरी रहेका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्री र प्रहरी पोस्ट जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो।



कागजपत्र |
