

कांग्रेसमा कोइराला परिवारको ‘महत्व’मा किन छैनन् रामचन्द्र पौडेल?

काठमाडौं– कोइराला पक्ष भन्नाले परिवारमा मात्र नभएर सभापति शेरबहादुर देउवाइतरको समीकरण रहेको बताएका थिए नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले। उनले भनेका थिए,‘आगामी सभापतिको उम्मेदवार म हो, कोइराला परिवार वा पक्षको नेता पनि मैं हुँ।’
१२ औं महाधिवेशनमा तत्कालिन सभापति सुशील कोइरालालाई सहयोग गरेका पौडेल १३ औं महाधिवेशनमा भने सभापतिका पराजित उम्मेदवार हुन्। उनलाई त्यसबेला कोइराला परिवारको साथ थियो। देउवासँग उनी दोस्रो राउन्डमा पराजित भए।
तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले प्रेमपूर्ण स्थान दिएका पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको थियो तर उनी त्यसमा पनि पराजित भए।
कांग्रेसभित्र प्रभाव राखे पनि गत आम चुनावमा पराजित पौडेल १४ औं महाधिवेशनमा सभापति बन्ने होडमा छन्। उनलाई आशा छ– देउवा इतरको सामूहिक समर्थन हुनेछ।
तर, कांग्रेसभित्र सबैभन्दा बलियो पकड राखेको कोइराला परिवारले भने उनलाई यस पटक महत्वमा राखेको छैन। सम्बन्धमा खटपट भए पनि केही साता अघि सुनसरीको इटहरीमा भएको जिपी कोइराला फाउन्डेशनले गरेको फुटबल खेलको उदघाटन सत्रमा शेखर, शशांक र सुजाता कोइराला एक साथ देखिएका थिए।
उनीहरूको सामूहिक घोषणा थियो– अब सभापतिको उम्मेदवार हामी तीन मध्य एक जनाको हुनेछ। स्वभाविक रुपमा ज्येष्ठताको आधारमा कोइराला परिवारले शेखरलाई सभापतिमा उठाउने निश्चितप्रायः छ। उनी सोही तयारीका लागि पनि देशव्यापी कार्यकर्ता प्रशिक्षणमा हिँडेका थिए।
उनले विभिन्न फोरममा भनेका छन्– सभापतिमा मेरो दाबेदारी रहनेछ।
कोइराला पक्षको प्रतिनिधित्व दाबी गर्ने नेता पौडेललाई अगाडि नसारेर उक्त परिवारले कस्तो राजनीतिक विरासतलाई अगाडि बढाउन खोजेको हो?
उच्च स्रोतले भन्यो,‘पौडेललाई अघिल्लो पटक सहयोग गरिएको हो। तर उनी पराजित भए। त्यहाँ कोइराला परिवारबाट निर्वाचित महामन्त्रीमा शशांक मात्र आए। अबचाहिँ अर्को पुस्तामा नेतृत्व जानुपर्ने भएकाले पौडेललाई कुनै सम्मानित सहमतिमा अगाडि बढ्ने तयारी हो।’
पौडेलको अहिलेको उत्कट चाहना सभापति र प्रधानमन्त्री बन्ने नै छ। तर उनका पटक–पटकका प्रयासमा पराजित भएका छन्। अघिल्लो पटक संसदीय दलको नेतामा देउवासँग पराजित भए, महाधिवेशनमा पनि देउवासँग जित निकाल्न सकेनन्। आम निर्वाचनमा पराजित भएपछि पौडेलको परिक्षण अवधि सकिएको कतिपय कांग्रेसी नेताको भनाई छ।
‘उहाँको योगदानले पार्टी अगाडि बढेको छ। तर कांग्रेसमा अब अर्को पुस्ताको नेतृत्व अनिवार्य भन्ने बहस भएकाले पौडेलले सम्मानित अथवा सल्लाहकारका रुपमा नै काम गर्नुपर्ने हुन्छ’, एक नेता भन्छन्,‘त्यसैले १४ औं महाधिवेशनका लागि उहाँलाई सभापतिमा स्वीकार गर्न कोइराला परिवार पनि राजी नभएको हो।’
कांग्रेसभित्र एउटा फरक पुस्ताका नेताहरू रहेकाले कोइराला परिवारको सहयोग नभए पनि पौडेल अर्को समूह खडा गरेर महाधिवेशनको मैदानमा उत्रिन सक्ने सम्भावना छन्। तर यो पौडेल स्वयम्का लागि प्रत्युत्पादक हुनसक्ने अनुमान गरिएको छ।
सभापतिमा पौडेलको दाबी नरहने र कोइराला परिवारले नस्वीकार्ने हो भने कुनै खास सम्झौतामा सभापति देउवासँगको सहकार्य हुने सम्भावनालाई पनि कतिपयले अस्वीकार गरेका छैनन्।
‘महाधिवेशनमा सम्झौता मिल्यो भने जस्तो पनि समीकरण बन्न सक्छ। राजनीतिमा ति स्वभाविक लाग्नेछन्’, ति नेता भन्छन्।

