
निजामती विधेयकमा चलखेल: उच्चस्तरीय छानबिन समिति गठनकाे माग
काठमाडाैं- संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा हेरफेर गरिएको आरोप सार्वजनिक भएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बैठक बसेको छ।
बैठकमा सहभागी सांसदहरूले विधेयकको अन्तिम प्रतिवेदन समितिको सहमति विपरीत प्रस्तुत भएको भन्दै विभिन्न मागहरू अघि सारेका छन्। नेकपा एमालेका नेता तथा पूर्व कानूनमन्त्री पदम गिरीले समितिले पारित गरेभन्दा फरक ढंगले प्रतिवेदन पेस भएको भन्दै समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग गरे। सभापति र सचिवको हस्ताक्षर भएकै कारण प्रतिवेदन ‘जस्ताको त्यस्तै’ पठाउने जिम्मेवारी समितिको भएको भन्दै गिरीले नैतिकताका आधारमा दुवैले मार्गप्रशस्त गर्नुपर्ने बताए।
यसैबीच नेपाली कांग्रेसले पनि विधेयकमा ‘कुलिङ अफ पिरियड’ व्यवस्था सम्बन्धी गरिएको कथित हेरफेरबारे गम्भीर छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठनको माग गरेको छ। कांग्रेस सांसद हृदयराम थानीले सो माग बैठकमा राखेका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विधेयकमाथिको चलखेलमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे। उनले सभापति र सचिवसहित सम्पूर्ण संलग्न पक्षमाथि गम्भीर छानबिन हुनुपर्ने बताए।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले विधेयकमाथि हेरफेर गर्न मुख्यसचिव वा सचिवहरूको संलग्नता छ कि छैन भन्नेबारे पनि स्पष्ट पार्न छानबिन समिति गठनको आवश्यकता औंल्याए।
समितिले सर्वसम्मतिमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्था राखेपनि, प्रतिनिधिसभाबाट असार १५ गते पारित विधेयकमा त्यसलाई कमजोर बनाउने खण्डहरू समावेश भएको पाइएको छ।



कागजपत्र |
