पासाङ ल्हामु राजमार्गमा ठाउँ-ठाउँमा पहिरो, सडक पूर्ण अवरूद्ध


काठमाडौं – रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ का तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

तातोपानी डाँडा र बालुवा खानीमा पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायव निरीक्षक धनबहादुर तामाङ नेतृत्वको टोली खटिएको छ । बाटो खुलाउनका लागि रसुवागढी हाइड्रोपावरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पहिरो झरेको स्थान इलाका प्रहरी कार्यालय टिमुरेबाट अन्दाजी ३ किलोमिटर दक्षिणमा पर्दछ ।

यसैगरी फ्याङलुङ र लिङलिङमा पहिरो खसेको ठाउँमा स्याफ्रुबेंशीबाट प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर थापा नेतृत्वको टोली खटिएको छ । सो टोलीले पनि बाटो खुलाउन पहल गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया