
मध्यरातमा पहिरोले घर पुर्दा ३ जनाको सकुशल उद्धार
ताप्लेजुङ- मध्यरातमा घरमाथिबाट खसेको पहिरोले घर भत्किँदा थुनिएका ३ जनाको उद्धार गरिएको छ ।
जिल्लाको सिदिङ्वा गाउँपालिका–३ आङखोपका ६१ वर्षीय हस्तबहादुर कटुवाल, उनकी श्रीमती ठगमाया कटुवाल र छोरी सम्झना कटुवाल घरभित्र थुनिएका थिए । उनीहरूको घरमाथिको कुलोको पानी थुनिएर पहिरो जाँदा घर भत्किएर भित्रै थुनिएको अवस्थाबाट स्थानीयले उद्धार गरेका हुन् ।
बुधबार मध्यराति १ बजे घरमाथिको कान्लो भत्किएर घर पुरिएको स्थानीयले जानकारी दिएका छन् । घर भत्किएको आवाजले मटानमा सुतेका छोराबुहारी ब्युँझिएका थिए । उनीहरूले गाउँमा होहल्ला गरेपछि गाउँलेहरू भेला भई तीनै जनाको उद्धार गरेका हुन् ।
घर भत्किँदा ठगमाया घाइते भएकी छन् भने हस्तबहादुर र छोरी सम्झनालाई भने सामान्य चोटपटक लागेको छ ।
छिमेकी मौसम लिम्बूका अनुसार पहिरोले पुरिएको घरमा श्रीमान–श्रीमती बस्ने र खाना पकाउने गर्थे भने मटानमा छोराबुहारी बस्ने गर्थे । बस्नका लागि समस्या नभए पनि खाने सरसामान भने केही पनि बाँकी नरहेको मौसमले बताए । खाद्यान्नदेखि भाँडा–वर्तन लगायतका सामग्री केही पनि नरहेको उनले बताए ।



कागजपत्र |
