एक महिनामा ६७४ मनसुनजन्य विपद्, ३१ जनाको मृत्यु, २६ करोडको क्षति


काठमाडौं— देशभर मनसुन सक्रिय भएसँगै गत जेठ १५ देखि असार १६ गतेसम्म देशभर ६७४ वटा मनसुनजन्य विपद्‌का घटना भएका छन्। यी घटनामा ३१ जनाको ज्यान गएको छ भने ११२ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यो अवधिमा पहिरोका ८७ घटना भएका छन्, जसमा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति पुगेको छ। पहिरोका कारण २ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, ६४ वटा बाढीका घटनामा चार जनाको मृत्यु र चारै जना घाइते भएका छन्। बाढीबाट १२३ परिवार प्रभावित भएका छन् भने चार वटा घरमा क्षति पुगेको छ।

८२ वटा चट्याङका घटनामा आठ जनाको मृत्यु र २० जना घाइते भएका छन्। उता, ४५ वटा हुरीका घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्।

समीक्षा अवधिमा एक पुल भत्किएको, सातवटा गोठ क्षतिग्रस्त भएको र १४ चौपाया मरेको प्राधिकरणले जनाएको छ।

राष्ट्रिय प्राधिकरणका अनुसार, यो एक महिनाको अवधिमा मात्रै देशभरका मनसुनजन्य विपद्का घटनाबाट जम्मा रु २६ करोड बराबरको आर्थिक क्षति पुगेको छ।

सरकारले जोखिमयुक्त स्थानहरूमा सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ भने विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि विभिन्न निकायहरू तयारी अवस्थामा राखिएको बताइएको छ।

प्रतिक्रिया