अब विद्यालयमा हड्ताल, तोडफोड र बन्द नगर्ने अनेरास्ववियुको घोषणा


काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) ले अबदेखि कुनै पनि विद्यालयमा हड्ताल, तोडफोड र बन्द नगर्ने निर्णय गरेको छ।

असार १४ र १५ गते काठमाडौँ विश्वविद्यालय, धुलिखेलमा सम्पन्न प्रथम सचिवालय बैठकले यो निर्णय गरेको हो। संगठनले शैक्षिक संस्थामा हुने हिंसात्मक गतिविधिका कारण विद्यार्थी संगठनको छवि बिग्रिरहेको भन्दै अबदेखि यस्तो शैली पूर्ण रूपमा अन्त्य गर्ने बताएको छ।

डा. सुजन कडरियाको नयाँ नेतृत्व आएपछि संगठनमा नीतिगत सुधारको संकेत देखिएको छ। विद्यालयहरू महिनौँसम्म बन्द गरिँदा विद्यार्थीको पठनपाठनमा असर परेको, आम अभिभावकमा नकारात्मक धारणा बनेको पृष्ठभूमिमा अनेरास्ववियुले विद्यालय हड्ताल नगर्ने निर्णय गरेको हो।

संगठनका पदाधिकारीहरूका अनुसार अब अनेरास्ववियु शान्तिपूर्ण र सिर्जनात्मक आन्दोलनमा केन्द्रित हुने छ।

प्रतिक्रिया