थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित, कारण- कम्बोडियाली नेतासँगको फोन कल


काठमाडौं- थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई संवैधानिक अदालतले पदबाट निलम्बन गरेको छ। कम्बोडियाका पूर्वप्रधानमन्त्रीसँगको गोप्य फोन संवाद सार्वजनिक भएपछि उनीमाथि संविधानविपरीतको आचरण गरेको आरोप लागेको हो। अनुसन्धान नसकिएसम्मका लागि अदालतले उनलाई निलम्बन गरेको हो।

३८ वर्षीया शिनावात्राले १० महिनाअघि मात्रै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। उनको निलम्बनले दक्षिणपूर्वी एसियाको राजनीतिमा फेरि अनिश्चितता बढाएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।

के थियो घटनाको जड ?
थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री शिनावात्राविरुद्ध दायर भएको निवेदन स्वीकार गर्दै उनलाई पदबाट निलम्बन गर्ने आदेश दिएको हो। ३६ जना सिनेटरले संयुक्त रूपमा पेश गरेको निवेदनमा शिनावात्राले नैतिकता उल्लंघन गरेको दाबी गरिएको थियो।

१५ जुनमा भएको एक गोप्य फोन कल सार्वजनिक भएपछि विवाद चुलिएको हो। उक्त कलमा शिनावात्रा कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘अंकल’ भनेर सम्बोधन गरिरहेको र आफ्नै देशको सेनाको आलोचना गरिरहेको सुन्न सकिन्छ।

फोन कलमा उनले देशभित्रबाट राजनीतिक दबाब आइरहेको उल्लेख गर्दै विपक्षीको कुरा नसुन्न आग्रह गरेकी छन्। त्यस्तै, “केही चाहिन्छ भने मलाई भन्नुस्, म मिलाउँछु” भन्ने अभिव्यक्ति दिएकी छिन्।

थाइल्याण्ड र कम्बोडियाबीच ८१७ किलोमिटर लामो सीमा छ। ऐतिहासिक विवाद र समय-समयको झडपले गर्दा दुई देशबीचको सम्बन्ध पहिलेदेखि नै संवेदनशील रहँदै आएको छ। हालैको झडपमा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो।

प्रतिक्रिया