कैलालीमा ८० वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या


कैलाली- कैलालीको जानकी गाउँपालिका–९ अमरावतीमा एक वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ। ८० वर्षीया मातादेवी शाही आफ्नै घरको सुत्ने कोठामा मृत फेला परेकी हुन्।

प्रहरीका अनुसार शाही एक्लै बस्ने दुई तले घरको माथिल्लो तलामा सुत्ने गर्थिन्। आज बिहान सवा ८ बजे कोठाको खाटमै उनी मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंह का अनुसार शाहीको छातीमा धारिलो हतियारको प्रहार भएको र घाँटीमा समेत चोट देखिएको छ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालन गरेको भए पनि हालसम्म अपराधी वा हत्याको कारण पत्ता लाग्न सकेको छैन। घटनास्थलको मुचुल्का उठाएर शाहीको शव परीक्षणका लागि टीकापुर अस्पताल लगिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया