
भारतको औषधि कारखानामा विस्फोट: ३६ को मृत्यु, दर्जनौँ घाइते
काठमाडौं- भारतको दक्षिणी राज्य तेलङ्गानाको हैदराबाद नजिकै रहेको एक औषधि निर्माण कम्पनी सिगाची इन्डस्ट्रिज लिमिटेडको उत्पादन इकाइमा सोमबार भएको भीषण विस्फोट र आगलागीमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने तीन दर्जनभन्दा बढी कामदार घाइते भएका छन्।
राज्यका अग्नि नियन्त्रण विभाग प्रमुख जी.भी. नारायण रावका अनुसार, घटना हैदराबादबाट करिब ५० किलोमिटर टाढाको एक औद्योगिक क्षेत्रमा भएको हो। विस्फोटपछि फैलिएको आगोका कारण कारखाना पूर्ण रूपमा भत्किएको छ र घटनास्थलबाट ३४ जलेका शवहरू निकालिएको छ। थप दुई जना अस्पतालमा मृत घोषित गरिएको जनाइएको छ।
रावका अनुसार, कारखानाको स्प्रे ड्रायर युनिटमा विस्फोट भएको थियो, जुन कच्चा पदार्थलाई औषधिमा रूपान्तरण गर्ने क्रममा प्रयोग गरिन्छ। भग्नावशेष हटाउने काम जारी छ, अझै केही कामदार फसेको आशंका गरिएको छ।
राज्यका स्वास्थ्य मन्त्री दामोदर राजा नरसिंहका अनुसार, विस्फोटको समयमा सो कारखानामा १०८ कामदार कार्यरत थिए। शवहरू जलेर चिनिन नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षणका लागि विशेष चिकित्सक टोली खटाइएको छ।
घटनाको अनुसन्धानका लागि राज्य सरकारले विशेष समिति गठन गरेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटको आवाज केही किलोमिटर टाढासम्म सुनिएको थियो।
भारत विश्वकै अग्रणी औषधि उत्पादक देशहरूमध्ये एक हो, जहाँ यस्ता औद्योगिक दुर्घटनाहरूले उत्पादन क्षेत्रको सुरक्षा मापदण्डप्रति गम्भीर प्रश्न उठाउने गरेका छन्।



कागजपत्र |
