धनगढीमा निरन्तर वर्षापछि दर्जनौँ बस्ती डुबानमा, उद्धार जारी


कैलाली- आइतबार रातिदेखि निरन्तर परेको भारी वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका दर्जनौँ बस्ती डुबानमा परेका छन्। धनगढी उपमहानगरको मुख्य बजार क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकाको मुख्य बजार, शिवनगर, क्याम्पस रोड, रातो पुल, हसनपुर, तारानगर, विशालनगर, शिक्षा टोल, श्रीलंका लगायतका बस्तीका हजारौं घरमा पानी पसेको छ। प्रशासनका प्रशासकीय अधिकृत शिवराज जोशीले भने, “पानी निरन्तर परिरहेको छ र मोहना नदीमा पानीको सतह बढ्दै गइरहेको छ, जसले बस्तीमा बाढीको जोखिम बढाएको छ।”

यसैबीच, प्रशासनले धनगढी उपमहानगरपालिका–७, बेलीगाउँका सात र धनगढी–१३, श्रीलंका क्षेत्रका चार गरी जम्मा ११ जनाको उद्धार गरेको छ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा पनि पानी पसेको छ र अस्पतालले स्वीपर प्रयोग गरी पानी फाल्न प्रयास गरिरहेको छ। त्यस्तै, प्रदेशको स्थायी राजधानी घोषित गोदावरीका थुप्रै बस्ती पनि डुबानमा परेका छन्।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार अत्तरिया क्षेत्रमा पछिल्लो २४ घण्टामा २१२.२ मिलिमिटर वर्षा भएको छ भने धनगढी विमानस्थलमा २०० मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढी वर्षा कञ्चनपुरको बेलौरीमा २६४.६ मिलिमिटर मापन भएको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख इन्जिनियर सञ्जय शाहले जानकारी दिए।

प्रतिक्रिया