
बैतडीमा कुकुरको टोकाइबाट १२ वर्षीय बालकको मृत्यु
बैतडी – कुकुरको टोकाइबाट घाइते बालकको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–६, कुयलीगाउँका १२ वर्षीय अनिल साउँदलाई करिब दुई हप्ता अघि कुकुरले टोकेको थियो। टोकाइले उनको टाउकोमा चोट लागेको थियो र उनलाई उपचारका लागि धनगढी लगिएको थियो।
धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारपछि तीन दिनअघि घर ल्याइए पनि अनिलको स्वास्थ्यमा समस्या थपिएपछि आइतबार अस्पताल लैजाने क्रममा डडेल्धुरा नजिकै बाटोमै उनको मृत्यु भएको छ। कुकुरको टोकाइबाट घाइते बालकमा रेबिजका लक्षण पनि देखिएका थिए। अनिल पानी देख्नासाथ डराउने अवस्थामा थिए।
जनता आधारभूत विद्यालय रौनालीचौडमा कक्षा ७ मा अध्ययनरत अनिलको निधनपछि पूरा गाउँ शोकमग्न भएको शिक्षक मनोज साउँदले बताए।



कागजपत्र |
