
हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैन: कृषिमन्त्री अधिकारी
काठमाडौं- कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ अघि बढ्न नसक्ने बताएका छन्।
२२औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले हिलोबाट तर्केर समृद्ध देश निर्माण सम्भव नहुने धारणा राखे। “हामी हिलोमा टेक्न नपरोस् भनेर तर्कने सोच राख्छौं,” उनले भने, “तर जबसम्म हामी हिलोमा पस्दैनौं, तबसम्म देश समुन्नतितर्फ जान सक्दैन।”
उनले अनुसन्धान र प्रविधिको माध्यमबाट धान बालीको परिष्कार गर्दै आत्मनिर्भरता हासिल गर्न सकिने बताए। राज्यले मल समयमै उपलब्ध गराउने, आवश्यक स्रोत साधन व्यवस्थापन गर्ने जिम्मेवारी बहन गर्नुपर्नेमा उनले जोड दिए।
मल आपूर्तिमा असार र साउनमा केही समस्या भए पनि त्यसको व्यवस्थापन गर्न सरकार सक्षम रहेको मन्त्री अधिकारीको भनाइ थियो। “मल नपाएर रोपाइँ गर्न सकिएन भन्ने सोच अब अन्त्य हुन्छ,” उनले स्पष्ट पारे।
सरकार किसानको मागप्रति गम्भीर रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले दुई वर्षभित्र देशलाई धानमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको जानकारी दिए। स्रोत र साधन सीमित भए पनि राज्यले किसानलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
“चैते धान र जुम्लाको मार्सी चामलको स्वाद अद्वितीय छ,” उनले भने, “हामी धानमा आत्मनिर्भर बन्नेछौं र यसमा सरकारको संलग्नता देखिनेछ।”
उनले आगामी वर्षको धान दिवसमा उत्पादनमा वृद्धि भइसकेको जनाउँदै किसानका सुझावलाई आत्मसात गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए।
नेपालमा बर्खे र चैते गरी दुई प्रकारको धानखेती गरिन्छ। कुल धानखेती क्षेत्रफलमध्ये करिब सात प्रतिशतमा मात्र चैते धान खेती हुने गरेको छ। असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने’ महिनाका रूपमा उत्सवको रूपमा मनाउने परम्परा छ।



कागजपत्र |
