सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा १२ वर्षीया निशा तामाङमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

असार १० गते राति घरबाट लगेर सामूहिक बलात्कार गरिएकी बालिकाको शव असार ११ गते बिहान ९:३० बजे छ्याङ्दीको जंगलमा फेला परेको थियो। कोलगाउँ बस्ने बालिकाको शव घरदेखि करिब ४ सय मिटर टाढा बारीमा नांगो अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार, बलात्कारपछि हत्या गरेको पुष्टि भएपछि भोटेकोशी गाउँपालिकाका पाँच युवालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन्।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धानका लागि काठमाडौंबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा झिकिएको थियो। प्रहरीले घटनास्थलको निरीक्षण, सबुत संकलन र सोधपुछपछि आरोप पुष्टि भएको जनाएको छ।

प्रहरीका अनुसार, पक्राउ परेका आरोपीहरू बालिकाकै गाउँका र केही आफन्त नातेदारसमेत हुन्। उनीहरूको घरबाट घटनासँग सम्बन्धित प्रमाणहरू समेत फेला परेको जनाइएको छ।

जिल्ला अदालत सिन्धुपाल्चोकबाट सात दिनको म्याद थप गराई आरोपीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया