बागलुङमा बस र पिकअप ठोकिँदा पाँच जना घाइते


बागलुङ-  पश्चिम बागलुङको बडिगाड गाउँपालिका–७, भीमगिठेमा बस र पिकअप जिप एकआपसमा ठोकिँदा पाँच जना यात्रु घाइते भएका छन्। दुर्घटना विपरीत दिशाबाट आइरहेका सवारी साधन एकआपसमा जुध्दा भएको हो।

घाइते हुनेमा गलकोट नगरपालिका–८ का श्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी रहेका छन्। उनीहरूको अनुहार तथा हातमा चोट लागेको र हाल नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको बडिगाड गाउँपालिकाका नगर प्रहरी हवल्दार कमल रानाले जानकारी दिएका छन्।

दुर्घटना बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८२८६ नम्बरको बस र गलकोटबाट बोबाङतर्फ गइरहेको घ १ ज ४२० नम्बरको पिकअप जिपबीच भएको हो। बसमा ९ जना र पिकअपमा ७ जना यात्रु सवार थिए।

घटनापछि प्रहरीले बस चालक श्यामबहादुर रजौंली र पिकअप चालक कृष्णबहादुर खत्रीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया