विराटनगरमा चोरी गर्दै हिँड्ने तीन भारतीय महिला पक्राउ


विराटनगर— चोरीको घटनामा संलग्न तीन जना भारतीय महिला मोरङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार, ती महिलाहरू विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधनमा यात्रा गर्ने असहाय तथा वृद्धवृद्धालाई लक्षित गरी नगद तथा गरगहना चोरी गर्ने कार्यमा संलग्न थिए।

पक्राउ परेका तीनै जना महिला भारतको पूर्णियाका हुन् र उनीहरूको उमेर २० देखि २५ वर्षको बीचमा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका महिलाहरूमा २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्। असार १२ गते पक्राउ गरिएका उनीहरूबाट प्रहरीले एक हजार दरका तीन गड्डा अर्थात् तीन लाख रुपैयाँ समेत बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, ती महिलाहरूले मोरङको कटहरी गाउँपालिका–४ का ७० वर्षीय नारायण प्रसाद काफ्लेको रकम चोरी गरेका थिए। उनीहरूले सिटी सफारीमा यात्रा गरिरहेका काफ्लेले बोकेको झोलाबाट रकम चोरी गरेका थिए।

हाल पक्राउ परेका महिलाहरूलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया