
ई–चलान जरिवाना तिर्न आनाकानी गर्ने चालकलाई दोब्बर जरिवाना र नवीकरणमा रोक
काठमाडाैं- बागमती प्रदेश सरकारले ट्राफिक नियम उल्लङ्घन गरी काटिएको ई–चलान जरिवाना तिर्न आनाकानी गर्ने सवारी चालकहरूका लागि कडा कदम चाल्ने तयारी थालेको छ। लामो समयदेखि जरिवाना नतिरी उम्कन खोज्ने प्रवृत्तिलाई अन्त्य गर्न प्रदेश सरकारले लाइसेन्स नवीकरणमा रोक लगाउने र दोब्बर जरिवाना तिराउने जस्ता कानूनी उपायको तयारी गरेको हो।
यातायात व्यवस्था कार्यालय हेटौंडाका प्रमुख प्रवीण श्रेष्ठका अनुसार प्रदेश सरकारले डिजिटल प्रविधिको प्रयोगमार्फत ट्राफिक जरिवाना सजिलै भुक्तानी गर्न मिल्ने सुविधा प्रदान गरिसकेको भए पनि अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन। उनले भने, “सेवाग्राहीको सहजताका लागि विभिन्न पेमेन्ट गेटवे उपलब्ध गराइएको छ, तर पनि राजस्व तिर्नबाट बच्न खोज्नु राज्यप्रति जिम्मेवार व्यवहार होइन।”
मकवानपुर जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पुसदेखि जेठसम्म २९ लाख १० हजार रुपैयाँ बराबरको ई–चलान काटिएको थियो, तर त्यसमा ५ लाख ५९ हजार रुपैयाँ मात्र असुल गरिएको छ। बाँकी २३ लाख ५१ हजार रुपैयाँ राजस्व अझै असुल हुन बाँकी रहेको छ।
नागरिक एपमार्फत सवारी चालकले लाइसेन्स विवरण हेर्ने, उल्लङ्घन सूचना पाउने, अनलाइन कक्षा लिने तथा जरिवाना तिर्ने सुविधा भए पनि प्रयोगकर्ताको सक्रियता न्यून रहेको पाइन्छ। सरकारले यातायात कार्यालय धाउनुपर्ने झन्झट हटाउने उद्देश्यले प्रणाली सुरु गरे पनि व्यवहारमा राजस्व संकलनमा प्रभावकारी बन्न सकेको छैन।
प्रदेश सरकारले अब ट्राफिक नियम उल्लङ्घनपछि जरिवाना नतिर्ने सवारी चालकहरूलाई कानुनी रूपमा सजाय दिने र सेवा नपाउने गरी नीतिगत रुपमा परिवर्तन ल्याउने संकेत दिएको छ।



कागजपत्र |
