आइसीसी वरीयतामा नेपाली स्पिनर सन्दीप र ललितको ठुलो छलाङ


काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० अन्तर्राष्ट्रिय बलर वरीयतामा उल्लेख्य प्रगति गरेका छन्।

स्कटल्यान्डमा सम्पन्न टी–२० शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीप लामिछानेले ४१ स्थान सुधार गर्दै ७५औं स्थानमा उक्लिएका छन्। उनले चार खेलमा ९ विकेट लिएका थिए।

त्यस्तै, ललितनारायण राजवंशीले पनि २९ स्थान उक्लिँदै ५४औं स्थानमा पुगेका छन्। उनले उक्त शृंखलामा ४ विकेट लिएका थिए।

बलर वरीयतामा दीपेन्द्रसिंह ऐरी भने एक स्थान घट्दै ८१औं स्थानमा पुगेका छन्। ललितले एकदिवसीय बलर वरीयतामा पनि पाँच स्थान सुधार गर्दै ४८औं स्थान ओगटेका छन् भने सन्दीप एक स्थान बढेर ५४औं स्थानमा छन्।

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत छन्। शीर्ष स्थानमा भारतका हार्दिक पान्ड्या र दोस्रोमा अस्ट्रेलियाका मार्कस स्टोइनिस छन्।

कुशल भुर्तेलले टी–२० ब्याटिङ वरीयतामा ६ स्थान उक्लिँदै ३२औं स्थानमा पुगेका छन्। तर, गुलसन झा (६१), रोहितकुमार पौडेल (६६), कुशल मल्ल (६८) र करण केसी (८१) अलराउन्डर वरीयतामा पछि परेका छन्।

एकदिवसीय अलराउन्डर वरीयतामा नेपाली खेलाडीहरूको स्थिति यसप्रकार छ: दीपेन्द्रसिंह ऐरी (५४), सोमपाल कामी (५६), सन्दीप लामिछाने (५९), करण केसी (६५), कुशल मल्ल (७४), ललित राजवंशी (८२), गुलसन झा (९२) र आरिफ शेख (९९)।

एकदिवसीय ब्याटिङमा कुशल भुर्तेल (८७), आरिफ शेख (९०), आसिफ शेख (९४) र कप्तान रोहित पौडेल (९९) स्थानमा छन्।

टी–२० ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी (६१), रोहित पौडेल (६६), आसिफ शेख (७८), र कुशल भुर्तेल (८३) स्थानमा रहेका छन्।

नेपाल टोली समग्र टी–२० वरीयतामा १८औं र एकदिवसीय वरीयतामा १७औं स्थानमा छ।

प्रतिक्रिया