इजरायल–इरानबीच युद्धविराम


काठमाडौं — इरान र इजरायलबीच पछिल्लो समय बढेको तनावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्धविराम घोषणा गरिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम प्रस्ताव स्वीकारेको जानकारी दिएका छन्।

ट्रम्पले दुबै पक्षलाई युद्धविराम नतोड्न आग्रह गर्दै तुरुन्तै लागू हुने बताएका छन्। यद्यपि इरानी विदेशमन्त्री अब्बास अराग्छीले इजरायलसँग औपचारिक सहमति नभएको बताएका छन्। तर, इरानले इजरायलले “अवैध आक्रमण” बन्द गरे युद्धविरामको पालना गर्ने जनाएको छ।

यसअघि इरानले इजरायलको बेर्सेवा सहरमा मिसाइल आक्रमण गर्दा कम्तीमा ४ जनाको मृत्यु भएको थियो। उद्धार टोली र सैनिकहरू भग्नावशेषमा जीवितको खोजी गरिरहेका छन्।

त्यसको केही घण्टापछि, इरानले कतारस्थित अमेरिकी सैनिक बेसमा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ। यो आक्रमण अमेरिकाले इरानी आणविक स्थलमा गरेको कारबाहीको जवाफमा गरिएको इरानको भनाइ छ।

इरानका अनुसार, इजरायली आक्रमणबाट अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ भने तीन हजारभन्दा बढी घाइते छन्। इजरायलले भने इरानी हमलामा आफ्ना २४ नागरिकको मृत्यु भएको जनाएको छ।

नेतन्याहुको युद्धविराम निर्णयप्रति विरोध
युद्धविराम घोषणासँगै नेतन्याहु आफ्नै पार्टी लिकुडका सांसद र विपक्षी नेताहरूको आलोचनाको सामना गरिरहेका छन्। नेतन्याहुका मुख्य प्रतिद्वन्द्वी अविग्डोर लिबरम्यानले युद्धविरामलाई “कमजोरीको संकेत” भन्दै चर्को आलोचना गरेका छन्।

त्यसैगरी, इजरायली विपक्षी दलहरूले गाजा क्षेत्रमा पनि युद्धविराम लागू गर्न माग गरेका छन्।

युद्धविरामपछि इरानी जनताबीच केही आशा पलाएको छ। धेरैले इजरायलले इरानमाथि आक्रमण गर्नु ‘रणनीतिक गल्ती’ भएको महसुस गर्‍यो भन्ने अपेक्षा गरेका छन्। -अलजजिरा

प्रतिक्रिया