बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता, खोजी कार्य जारी


बाजुरा — गौमुल गाउँपालिका–३ मा खोलाले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन्। बेपत्ता हुने व्यक्ति सोही वडाका निवर्तमान वडा सदस्य, करिब ४५ वर्षीय धनबहादुर बोहरा रहेका छन्।

वडा अध्यक्ष गोरख बोहराका अनुसार दिउँसो करिब २:४५ बजे घट्टको पाथर तार्ने क्रममा रौदी खोला एक्कासि उर्लिएर आएपछि उनी बगेका हुन्। घटनाका बेला धन बहादुरसहित अन्य स्थानीयहरू खोलापारी थिए। उनीहरूमध्ये अर्का एक व्यक्ति घाइते भएका छन् भने एक जना सकुशल रहेका छन्।

घाइते हुनेमा सोही गाउँका ४०–४५ वर्षका दिल बहादुर बोहरा रहेका छन्। उनलाई माझपाली आधारभूत स्वास्थ्य केन्द्रमा उपचार गरिँदैछ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार धन बहादुरको अवस्था हालसम्म अज्ञात छ। स्थानीयवासी र सुरक्षाकर्मीहरूले उनको खोजी कार्य तीव्र रूपमा जारी राखेको जानकारी उनले दिएका छन्।

प्रतिक्रिया