इरानका परमाणु केन्द्रहरूमा अमेरिकी हमला, तेहरानलाई थप चेतावनी दिँदै ट्रम्पको सम्बोधन


न्यूयोर्क – राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्।

ट्रम्पले ती हमलाहरू ‘निकै सफल’ भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको ‘फूल पेलोड’ खसालिएको समेत बताए।

इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग ‘शत्रुको आक्रमणमा परेको’ जनाएको छ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकाले शनिवार इरानलाई ‘कूटनीतिक रूपमा’ सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र ‘शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको’ जनाएको थियो।

ट्रम्पले आफ्ना सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाउँदै आफ्नो सोसल मिडिया ‘ट्रुथ सोसल’मा लेखेका थिए।

कैयौँ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको कदमको समर्थनमा प्रतिक्रिया जनाएका छन् भने केही अमेरिकी सांसदहरूले कङ्ग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन्।

इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी हमलालाई ‘अपमानजनक’ भन्दै निन्दा गरेका छन्। उनले इरानले ‘आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राखेको’ बताएका छन्।

अमेरिकी हमलापछि जेरुसलेममा कैयौँ विस्फोटहरू र जोर्डनमा साइरनहरू बजेको सुनिएको बीबीसी संवाददाताहरूले जनाएका छन्।

इजरेली सेनाले इरानी क्षेप्यास्त्रहरूलाई रोक्न प्रतिरक्षा प्रणालीहरू सक्रिय पारेको जनाएको छ।

 

ट्रम्पको सम्बोधन

हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले ‘इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको’ बताउँदै ‘इरानले अब शान्ति कायम गर्नुपर्ने’ बताए।

‘यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्,’ उनले भने।

चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै आफूहरूले ‘इजरेलका लागि यस भयानक खतरा’ मेट्न ‘एकसाथ’ काम गरेको बताए।

‘त्यहाँ कि त शान्ति हुनेछ या त इरानका लागि विगत आठदिनमा हामीले देखेभन्दा निकै ठूलो त्रासदी हुनेछ,’ इरानलाई थप चेतावनी दिँदै ट्रम्पले भने।

‘याद रहोस्, धेरै निशानाहरू बाँकी छन्। आजको रात अहिलेसम्मकै सबैभन्दा कठिन र सायद सबैभन्दा घातक समेत थियो। तर यदि शान्ति चाँडै आएन भने हामी अन्य ती निशानाहरूमा सटिक रूपमा, छिटै र कुशलतापूर्वक जानेछौँ।’ –बिबिसी

प्रतिक्रिया