

विश्वकप छनोट : पोल्यान्डमाथि इङ्ल्यान्डको जित

काठमाडौं – फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनौटमा इङ्ल्यान्डले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा इङ्ल्यान्डले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इङ्ल्यान्डलाई जित दिलाउन ह्यारी केन र ह्यारी मग्वायरले एक–एक गोल गरे । उता पोल्यान्डका जाकुब मोडेरले एक गोल फर्काए । खेलको १९ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
५८ औं मिनेटमा पोल्यान्डका जाकुबले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काए । ८५ औं मिनेटमा मग्वायरले गोल गर्दै इङ्ल्यान्डलाई २–१ को जित दिलाए । जितसँगै समूह ‘आई’ को शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले ३ खेलमा ९ अंक जोडेको छ । पराजित पोल्यान्ड ४ अंक जोडेर चौंथो स्थानमा छ ।

