अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषदमा तानिए


काठमाडौं- कांग्रेस नेता अफताब आलमलाई रौतहट बमकाण्डसम्बन्धी मुद्दामा सफाइ दिने फैसलापछि विवादमा आएका उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनलाई न्यायपरिषद्ले तानेको छ।

गत १४ जेठमा आलमसहितलाई सफाइ दिने निर्णय भएपछि त्यसको चर्को विरोध र आलोचना भएको थियो। फैसलापछि देशभरि आलोचना चुलिएपछि न्याय परिषदले बिहीबार बसेको बैठकमार्फत दुई न्यायाधीशलाई कार्यक्षेत्रबाट तानेको हो।

स्रोतका अनुसार, आलममाथिको मुद्दामा गरिएको फैसला पक्षपाती भएको भन्दै पिडित पक्षका तर्फबाट त्रिलोकप्रताप सिंह (मृतक पिन्टु सिंहका पिता) र युवराज सफलले दुवै न्यायाधीशविरुद्ध उजुरी दिएका थिए। उजुरीमा कानूनमन्त्री अजय चौरसियाको पनि संलग्नता रहेको आशंका उठाइएको छ र उनको कल डिटेल जाँचको माग गरिएको छ।

यसअघि न्यायपरिषद्की वरिष्ठतम सदस्य सपना प्रधान मल्लले नै थारु र महर्जनलाई सुरक्षा चिन्तासहित परिषदमा तान्नुपर्ने प्रस्ताव गरेकी थिइन्, जुन सुरुवातमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानुनमन्त्री चौरसियाले अस्वीकार गरेका थिए।

यसबीच, न्यायाधीश थारुमाथि इजलासभित्रै दुर्व्यवहार भएको घटना पनि सार्वजनिक भएको थियो। जिल्ला अदालतले आलमलाई सर्वस्वसहित जन्मकैदको फैसला गरे पनि उच्च अदालतबाट भएको सफाइ फैसलाले गम्भीर प्रश्न खडा भएको छ।

प्रतिक्रिया