
काठमाडौंबाट लागूऔषधसहित एक महिला पक्राउ
काठमाडौं- लागुऔषध बिक्रीमा संलग्न रहेको आरोपमा एक महिला काठमाडौँबाट पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा जनकपुर स्थायी घर भई काठमाडौं–१५ स्थित निशर्ग अस्पताल नजिक बस्दै आएकी २० वर्षीया मनिषा ठाकुर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा उनको कोठामा खानतलासी गर्दा ठूलो मात्रामा लागूऔषध फेला परेको हो।
प्रहरीका अनुसार, ठाकुरको कोठाबाट २१ हजार ५ सय ट्रामाडोल ट्याब्लेट, २६० थान फेनारगन, २६० थान डाइजापाम, र २६० थान नुर्फिन बरामद गरिएको छ। साथै लागूऔषध कारोबारबाट आर्जन गरिएको आशंकामा नगद २ लाख २५ हजार ८ सय रुपैयाँ पनि बरामद गरिएको छ।
ठाकुरविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
