
४९० मिटर लामो ग्वार्को फ्लाइओभरको निर्माण सम्पन्न, भाेलि उद्घाटन
काठमाडौं- ग्वार्कोमा निर्माण गरिएको फ्लाइओभर अब भोलिदेखि सवारी सञ्चालनका लागि खुला हुने भएको छ। सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न ४ बजे औपचारिक रूपमा फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
आशीष–समानान्तर–जेभी निर्माण कम्पनीले उक्त फ्लाइओभर बनाएको हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको यो फ्लाइओभरको उचाइ ६ मिटर रहेको छ। बालकुमारीतर्फको ‘र्याम्प’ २८० मिटर लामो छ भने सातादोबाटोतर्फ झर्ने ‘र्याम्प’ १७५ मिटरको छ। ‘सुपर स्ट्रक्चर’को लम्बाइ ३५ मिटर र सम्पूर्ण फ्लाइओभरको लम्बाइ ४९० मिटर रहेको छ।
अब मंगलबजारदेखि इमाडोल वा इमाडोलबाट मंगलबजारतर्फ जाने गाडी फ्लाइओभरको मुनीबाट गुड्नेछन्। चक्रपथतर्फ सिधा गाडी जाने व्यवस्था फ्लाइओभरमार्फत गरिएको छ।
फ्लाइओभर निर्माणमा कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ लागेको छ।



कागजपत्र |
