
कारागारमा पालीको शंकास्पाद मृत्यु : किटानी जाहेरी दर्ता गर्न अस्वीकार गर्दा पोस्टमार्टम रोकियो
धनगढी- कैलाली कारागारमा मृत्यु भएका कैदीबन्दी हरीसिंह पालीको प्रकरणमा प्रहरीमाथि गम्भीर प्रश्न उठेको छ। पालीकी श्रीमती जानकी साउँदले योजनाबद्ध कुटपिटबाट श्रीमानको हत्या गरिएको आरोपसहित किटानी जाहेरी दिँदा पनि कैलाली प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो। जाहेरी नदिई पोस्टमार्टम नहुने प्रहरीको अडानका कारण शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालको शवगृहमै छ।
जाहेरीमा पालीलाई कुटपिट गरेर हत्या गरेको आरोप प्रहरी सहायक निरीक्षक (सई) हरजीत नाथ, जेलर बसन्त खत्री, सुरक्षा प्रमुख भरत अधिकारी, प्रहरी इश्वरी पाण्डेयलगायतमाथि लगाइएको छ। पालीको शरीरमा निलडाम र चोटपटक देखिएको उल्लेख जाहेरीमा गरिएको छ।
कारागारको ब्लक ‘ए’ बाट प्रमुखलाई पठाइएको पत्रमा समेत पालीको शरीरमा चोटपटक रहेको पुष्टि गरिएको छ। प्रहरी स्रोतका अनुसार जाहेरीमा प्रहरीकै नाम आएका कारण दर्ता गर्न अस्वीकार गरिएको हो।
सई नाथले बैंकिङ कसुरमा पालीविरुद्ध जाहेरी दिएका थिए। सोही आधारमा जिल्ला अदालत कैलालीले उनलाई १० दिन कैद र दुई लाख जरिवानाको फैसला सुनाएको थियो। पालीलाई डडेल्धुराबाट पक्राउ गरी ३० जेठमा कैलाली ल्याइएको र १ असारमा कारागार चलान गरिएको थियो। त्यसको भोलिपल्ट २ गते उनको मृत्यु भएको हो।
यता, आफन्तले पालीले सई नाथसँग व्यापारिक हिसाबकिताबमा चेक दिएका थिए, न कि सापटी लिएको भन्दै आरोपको खण्डन गरेका छन्। घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।



कागजपत्र |
