


कलंकीको स्कुलमा भ्यान ठोक्किँदा बालिकाको मृत्यु, ५ विद्यार्थीसहित चालक र शिक्षक घाइते

काठमाडौं – काठमाडौंको कलंकीस्थित एक निजी स्कुलमा स्कुलकै भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
ईडीआईएफवाई स्कुलको परिसरभित्र रहेको पोलमा स्कुलको ईभी भ्यान ठोक्किँदा दुर्घटना भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी सर्लाहीकी ९ वर्षीया सोनाक्षी यादवको उपचारका क्रममा सहिद मेमोरियल अस्पताल, कलंकीमा निधन भएको प्रहरीले जनाएको छ।
घटनामा पाँच विद्यार्थी घाइते छन् भने भ्यान चालक र एक शिक्षक पनि घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र नेपाल नेसनल अस्पताल, कलंकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

