न्यूरोडमा दिउँसै खुकुरी देखाएर आईएमई लुटपाट


काठमाडौं- बुधबार दिउँसो न्यूरोडस्थित खिचापोखरीमा खुकुरी देखाएर रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’मा लुटपाट भएको छ। हेम मल्ल र गोरख चन्दले सञ्चालन गरेको आईएमई लुटपाट भएको प्रहरीले जनाएको छ।

चार जनाको समूहले मध्यान्ह साढे ३ बजे आईएमईमा छिरेर लुटपाट गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

दिनदहाडै खुकुरी देखाएर आईएमई लुटपाटमा संलग्न चार जना पक्राउ परेको एसएसपी सिंहले बताए। ‘दाङ घर भएका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ वर्षीय उमेश केसी र ललितपुर बस्ने नविन केसी पक्राउ परेका छन्,’ सिंहले भने।

आईएमई लुटपाट गरेको केही घण्टामै आरोपीहरुलाई नियन्त्रणमा लिइएको एसएसपी सिंहले बताए। ‘उनीहरुको साथबाट ५९ हजार ७ सय नगद बरामद भएको छ,’ सिंहले जानकारी दिए।

लुटेको १ लाख रुपैयाँ तिलकले दाङ जाने बसमा बुवालाई पठाएको प्रहरीसमक्ष बयान दिएका छन्। ‘आइएमई सञ्चालकले ६ लाख लुटेको दाबी गरेका छन्। तर, हामी थप अनुसन्धान गर्दैछौं,’ सिंहले भने।

तिलक राउतको नेतृत्वको समूहले यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया